झापा । (एनसीसी) अल्मुनाई एसोसिएसन नेपाल झापाले पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ ।
चारआलीस्थित अरिदमन गणमा संस्कृति उत्सव कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो । विद्यार्थीहरूलाई अनुशासित र राष्ट्र प्रेममा जागृत गराउँदै आएको राष्ट्रिय सेवा दल ( एन.सी.सी)का युवा विद्यार्थीहरूले (एन.सी.सी) अल्मुनाई एसोसिएसन नेपालको आठौँ र झापाको पहिलो वार्षिकोत्सव मनाएका हुन् ।
(एन.सी.सी) अल्मुनाई एसोसिएसन झापाको अध्यक्ष रोजिना वनले पहिलो पटक वार्षिकोत्सव आयोजना गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले नेपाली सेनाले (एन.सी.सी) अल्मुनाई एशोसिएशनको उन्नति र विकासमा योगदान गर्दै आएको बताइन् ।
कार्यक्रममा विभिन्न संस्कृति विविधता झल्किने नृत्य प्रस्तुत गर्नुका साथै गायन, कविता प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । पहिलो वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि २१ नं. बाहिनी अड्डाका बाहिनी पति सहायक रथी मनिकुमार श्रेष्ठले (एन.सी.सी) मार्फत अनुशासित युवा उत्पादनमा योगदान पुगिरहेको बताए । उनले (एन.सी.सी)मा सिकेका ज्ञानलाई राष्ट्र हितमा समर्पित गर्न शुभकामना दिए ।
बाहिनी पति सहायक रथी श्रेष्ठले राष्ट्रलाई आवश्यक परेको समयमा योगदान गर्न सक्ने दक्ष युवाहरू उत्पादनमा एन.सी.सीको योगदानको प्रशंसा गरेका छन् । कार्यक्रममा अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, अन्य सुरक्षा निकायका प्रमुखहरू, एनसीसी तालिम सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, संस्थापकहरू तथा शिक्षक, पत्रकार, समाजसेवी, अल्मुनाई एसोसिएसनमा आबद्ध विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
नेपाली सेनाले झापा जिल्लाका विभिन्न सरकारी तथा निजी स्कुलहरूमा प्रत्येक बर्ष १५ जना छात्र र १५ जना छात्राहरूलाई समावेश गरी सिनियर र जुनियर डिभिजन एन.सी.सी. तालिम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया