चितवन । स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ ।
चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् भने इच्छाकामनाका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्ना उत्पादनको प्रत्यक्ष बजारीकरण गर्न पाउनेछन् ।
महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्नुका साथै स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल विस्तार गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला विज्ञ किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगिता तथा किसान लक्षित विविध कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।
मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष पुजन भण्डारीका अनुसार पहिलेदेखि नै देश–विदेशमा पहिचान बनाएको मुग्लिन बजारमा फुड फेस्टिवल आयोजना हुँदा स्थानीय होटल व्यवसायीमा उत्साह थपिएको छ । महोत्सवमा थकाली र नेवारी खानासँगै इच्छाकामनामा उत्पादन हुने रैथाने बालीका परिकारको स्वाद लिन पाइनेछ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट यस क्षेत्रका किसानले वार्षिक ९ देखि १० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएको जानकारी दिए । यहाँको सुन्तला स्वादिष्ट भएकाले बजारको अभाव नरहेको उनको भनाइ छ ।
सुन्तलाखेती विस्तार र बगैँचा संरक्षणका लागि गाउँपालिकाले प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएका सुन्तलाका बिरुवा वितरण गर्दै आएको अध्यक्ष गुरुङले बताए । साथै नयाँ प्रविधियुक्त सामग्री, टिपाइ, गोडमेल, गोठेमल र सिँचाइ व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको उनले उल्लेख गरे ।
सुन्तला महोत्सव तथा फुड फेस्टिवलले इच्छाकामनाका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ ।
प्रतिक्रिया