झापा : पठन संस्कृतिमा जोड दिदै झापामा सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’ घोषणा गरिएको छ । झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक र व्यावसायिक संघसंस्थाको सामूहिक पहलमा पठन संस्कृति वर्ष’ घोषणा गरिएको हो ।
बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा तीर्थ सिग्देलको ‘त्यो झापा’ इतिहास र हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ विमोचनसँगै पठन संस्कृति वर्ष घोषणा गरिएको हो ।
अभियानका अभियन्ता तथा लेखक तीर्थ सिग्देलका अनुसार पठन संस्कृतिलाई सामाजिक तहबाट सुदृढ बनाउँदै यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थीमाझ पठन संस्कृतिको सन्देश फैलाउने उद्देश्यले सन् २०२६ भरि विविध रचनात्मक गतिविधि सञ्चालन गरिने सिग्देलले जानकारी गराए ।
अभियानअन्तर्गत स्थानीय तह र सरोकारवालाको सहभागितामा शैक्षिक सरोकार समिति गठन गरी पठन संस्कृतिसँगै शैक्षिक र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइयो ।
झापाको इतिहासबारे वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासी, समाज विकासमा अभियानको भूमिकाबारे सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी र पठन संस्कृतिको सामाजिक प्रभावबारे सामाजिक अभियन्ता तथा लेखक केदार शर्माले धारणा राखेका थिए ।
सामाजिक अभियन्ता गिरीले अस्पताल, विद्यालय र सार्वजनिक स्थानमा पुस्तक पढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । पठन संस्कृतिको दीर्घकालीन विकासका लागि अक्षय कोष स्थापना, उपहारमा पुस्तक दिने संस्कार र यात्रामा पुस्तक बोक्ने बानी विकास गर्नुपर्ने सुझाव उनले दिए ।
अभियान वीरता रिडर्स, रिडर्स अभियान नेपाल र झापाली साहित्य समाजको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको संयोजन इशा बुक्स सेन्टर र मिडिया रिसर्च सेन्टरले गरेको थियो भने न्यूटन्स एजुकेशन एकेडेमीको सहकार्य रहेको थियो ।
प्रतिक्रिया