२२ वर्षको अनुभवसहित कमल तिम्सिनाले गरे ईक्यान केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

विहीबार, १७ पुस २०८२

काठमाडौं : नेपाल शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा सुदृढ बनाउने अभियानमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका कमल तिम्सिनाले नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) केन्द्रको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा साझा उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

हाल ईक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार, पूर्वाञ्चल शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष रहेका तिम्सिना विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका अनुभवी व्यक्तित्व हुन्।

विद्यार्थी, अभिभावक र परामर्श संस्थाबीच विश्वास निर्माणमा उनले खेलेको भूमिकालाई शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाले उच्च मूल्याङ्कन गर्दै आएका छन्।

आगामी २०८२ साल पौष २८ गते सम्पन्न हुन लागेको ईक्यान केन्द्रको २०औँ वार्षिकोत्सव तथा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गरेका तिम्सिनाले केन्द्र र शाखाबीचको दूरी घटाउने, नीति निर्माणमा शाखाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।

शाखामा देखिने समस्या, चुनौती र आवाज केन्द्रसम्म प्रभावकारी रूपमा पुर्‍याउने तथा केन्द्रबाट सिर्जना हुने अवसर, नीति र व्यावसायिक सम्भावनालाई देशभरका शाखासम्म विस्तार गर्ने समन्वयकारी भूमिकामा आफू दृढ रहेको उनले स्पष्ट पारे।

तिम्सिनाले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई कानुनी, नैतिक र गुणस्तरीय ढाँचामा अघि बढाउन, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, आचारसंहिता कार्यान्वयन, तालिम तथा अपडेटेड नीतिगत दिशानिर्देशनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

अन्तर्राष्ट्रिय शैक्षिक बजारसँग समन्वय, विद्यार्थी हित संरक्षण र परामर्श व्यवसायको सामाजिक प्रतिष्ठा उकास्न पनि उनले पहल गर्ने बताएका छन्।

विगत एक दशकभन्दा लामो समयदेखि ईक्यानका विभिन्न संरचनामा रहेर संस्थागत सुदृढीकरण, शाखा विस्तार, सदस्य समन्वय र नेतृत्व विकासमा सक्रिय भूमिका खेलेका तिम्सिनाले यस कार्यकालमा पनि आफ्नो अनुभव, क्षमता र व्यावसायिक नेटवर्क प्रयोग गरी सङ्घलाई थप सबल बनाउने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा, उनले ईक्यानलाई सबै सदस्यको साझा संस्था बनाउने अभियानमा आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै सम्पूर्ण सदस्य, शुभेच्छुक र सरोकारवालाबाट सहयोग, समर्थन र विश्वासको विनम्र आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार