टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए ।
चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो ।
यता नेदरल्यान्ड्स र अर्जेन्टिनाको निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रता लिएको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली ट्राइब्रेकरमा भने सफल हुन सकेन ।
टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे ।
मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे ।
अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया बिच प्रतिष्पर्धा हुने छ ।
प्रतिक्रिया