तीन वर्षभित्र विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने मुख्यमन्त्रीको दाबी

विहीबार, २८ बैशाख २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन वर्षभित्र विराटनगरको बैजनाथपुर खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने दाबी गरेका छन् । बुधबार राती नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८०।८१ देखि तीन वर्षभित्रमा बैजनाथपुर खेलमैदानमा अन्र्तराष्र्टिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् । क्रिकेटका लागि विराटनगर उर्वरभूमि रहदै आएको बताएका मुख्ममन्त्री कार्कीले निजी क्षेत्रको साथ सहयोगसंगै प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारको समन्वयनमा क्रिकेट मैदान निर्माण गरिसक्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई समेत सहयोग गर्न आग्रह गर्दै भने, ‘रंगशाला निर्माणका लागि सरकार तयार छ । तीन तहको सरकारसंगै बजेट स्रोत सुनिश्चितता गर्दै हामी अघि बढ्छौ । हामीले बाटो विराउँदा झकझकाउने कार्यका लागि तपाईहरुले एउटा समिति बनाएर अघि आइदिनु होला । समिति बने सरकारमा जो आएपनि काम भए नभएको नजिकबाट छलफल र जानकार हुनसक्नेछ।’ निजी क्षेत्रले खेलाडी उत्पादनका लागि एकेडेमी निर्माणमा सहयोग गर्नुपर्नेमा मुख्मयन्त्री कार्कीले जोड दिए । क्रिकेट टोली एशिया कपमा छनोट भएकोमा बधाइ दिदंै मुख्यमन्त्री कार्कीले खेलाडीलाई प्रदेश सरकारले सहयोग गर्ने बाचा गरेका थिए । कार्यक्रममा राष्ट्रिय टोलीका म्यानेजर विनोद दासले खेलाडी भएर जीविकापोर्जन गर्न समस्या हुने गरेको बताए । राजनीतिक दलप्रति ब्यंग गर्दै उनले भने, ‘यहाँ राजनीति गर्दै नेता भएर अघि बढ्न सकिन्छ । तर नेताले खेलाडीलाई सक्दो सहयोग पुराउँदैनन् । खेलाडीले राष्ट्रका लागि खेल्ने हो । तर उनीहरुको पीडा बुझ्न सरकार, नेता, राजनीतिक दलले बुझ्न सकेनन् । ‘खेलाडीलाई आर्थिक सहयोग गर्नुस् हामी भन्दैनौ’ उनले भने, ‘तर खेललाई चलायमान बनाउन कम्तीमा ठूलो लगानी गरिदिनुस् । एउटा दरिलो संरचना र खेल खेल्ने उचित वातावरण बनाइदिनुस्। ताकी खेलाडीले समेत खेलमा भविष्य देखेर अपनत्व गर्न सकुन्।’ एसीसी प्रिमियर कपको विजेता भएपछि मुलुकमै क्रिकेट खेलाडीलाई पहिलोपटक नगरपरिक्रमा र सम्मान कार्यक्रम आयोजना गरिएको बताएका उद्यमी तथा पूर्व अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले खेलाडीलाई बाच्ने आधार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारको ध्यानाकर्षण गराउँदै लुनियाले भने, ‘सरकारले एउटा दरिलो संरचना बनाउन सक्दा त्यसबाट ठूलो राशी राजश्व संकलन गर्न सक्छ । बैजनाथपुर रंगशालालाई अन्र्तराष्ट्रियस्तरको बनाउँदा सक्दा, विदेशी टोलीलाई ल्याएर खेल गराउन सकिने र त्यसबाट राम्रो राजश्व संकलन गर्न सकिन्छ।’ कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले खेल र खेल मैदानको विकासका लागि निजी क्षेत्र तयार रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय टोलीका फिजियो ट्रेनर अब्दुल सत्तारको उपचारका लागि ७ लाख रुपैयाँ प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेल, विनोद दासलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी, सत्तारको उपचारका लागि खेलाडीको हस्ताक्षरसहितको मायाको चिनो क्रिकेट ब्याट लिलामी गरिएको थियो । न्यूनतम १ लाख रुपैयाँबाट सुरु गरिएको लिलामी ब्याटलाई विराटनगरका उद्योगी अमित राठीले १ लाख ५१ हजार रुपैयाँमा खरिद गरेका थिए । सो अवसरमा युवा खेलाडी दीपेश कँडेललाई अरिहन्त समूहले सम्मान गरेको थियो । कार्यक्रममा उद्योग कृषि मन्त्री भक्ति सिटौला, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अविनाश बोहोरा, नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठ, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार