विराट–बर्जु हाफ म्याराथन शनिबार

सोमबार, ०१ जेठ २०८०
विराटनगर । पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर कोसी प्रदेश सरकारले विराट–बर्जु हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । प्रतियोगिता आगामी शनिबार आयोजना हुनेछ । सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ । प्रतियोगिताका लागि मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरिएको मन्त्रालयका सचिव डा. सञ्जीव राईले बताए । सहभागी हुने धावकको विवरण उपलब्ध गराउन कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको वराह बाहिनी मुख्यालय, इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर, ७ वटै प्रदेश तथा कोसी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघलाई पत्राचार गरिएको जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक जोसुकैले नाम दर्ता गराउने सक्नेछन् । त्यसका लागि जेठ ४ गते दिउँसो ४ बजेसम्म म्याद तोकिएको छ । एथलेटिक्स संघका पूर्वकेन्द्रीय अध्यक्ष किरण गिरीले पुरुष र महिलातर्फ बढीमा १ सय जनाको सहभागिताका लागि आह्वान गरिएको बताए । विराट राजाको दरवार संग्रहालयबाट बिहान ६ बजे सुरु हुने दौडका लागि विराटनगर भन्सार (आईसीपी), कोसी लोकमार्ग, रोडशेष, बसपार्क, जनआन्दोलन चोक, भट्टीमोड चोक, केसिलया रोड, भीमपुर, रामगन्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालसम्मको रुट तय गरिएको छ । सुरक्षाका लागि नेपाल र सशस्त्र परिचालन गरिने तथा ट्राफिक एवं रुट व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइने भएको छ । मोरङ एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने खुला प्रतियोगिताको उद्घाटन प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गर्ने तय भएको छ । मन्त्री आचार्यका स्वकीय सचिव कपिल सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगद पुरस्कार पाउने छन् । त्यसबाहेक ३ जनालाई जनही १५ हजार रूपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने सुनारले बताए । उनका अनुसार महिलातर्फ ५ किलोमिटरको सडक दौड पनि आयोजना गरिने छ । त्यसमा प्रथमले २५, द्वितीयले २० हजार र तृतीय हुनेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । दौड विराट राजाको दरवार क्षेत्रबाट सुरु हुने छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि मन्त्रालयका सचिव डा. राईको संयोजकत्वमा १४ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । नेपाल र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु डीआईजी राजेशनाथ बास्तोला र अन्जनीकुमार पोखरेललगायत समितिका सदस्य छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार