काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
२० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् ।
एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
‘आईसीसीले क्यानलाई इमेल गर्दै टी-२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको छ’, चन्दले भने, ‘टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुने जानकारी गराएको छ ।’
एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।
बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् ।
प्रतिक्रिया