आईपीएलको प्ले अफमा गुजरात, हैदराबाद प्रतियोगिताबाट बाहिर

मंगलबार, ०२ जेठ २०८०
सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ । साविक विजेता गुजरात जारी सिजन आईपीएलको प्ले अफमा स्थान बनाउने पहिलो टिम बन्दा हारपछि हैदराबाद प्रतियोगिताबाट बाहिरियो । अहमदाबादमा सनराइसर्जले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । गुजरातले शुभम गिलको शतकीय इनिङसको मद्दतमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो । खराब सुरुवात गरेको गुजरातका ओपनर रिद्धमान साह, भुवनेश्वर कुमारको बलमा शून्यमा आउट भएका थिए । दोस्रो विकेटका लागि गिल र साइ सुर्दसनले १ सय ४७ रनको साझेदारी गर्दै इनिङस सम्हाले । साइले ४७ रन जोडे । गिलले ५८ बलमा एक सय १ रनको योगदान गरे । आईपीएलमा आफ्नो पहिलो शतक बनाउने क्रममा उनले १३ चौका र १ छक्का प्रहार गरे । कप्तान हार्दिक पान्डेया, डेविड मिल्लर, राहुल तेवतियासहित ८ खेलाडीले भने दोहोरो रन छुन सकेनन् । भुवनेश्वरले चार ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । जवाफमा हैदराबादले ९ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो । गुजरातको बलिङसामू कमजोर बनेको हैदराबादका ६ खेलाडी टिमको स्कोर ४९ रन हुँदा पभेलियन फर्किएका थिए । हेनरिच क्लासेनले ६४ रन जोडेर हैदराबादको साख जोगाएका थिए । मोहम्मद सामी र मोहित शर्माले ४ - ४ विकेट लिए । १३ खेलबाट १८ अंक बनाएको गुजरातको शीर्ष दुईमा रहने पक्का भएको छ । अर्थात उसलाई फाइनल पुग्नका लागि दुई अवसर हुनेछ । अब प्ले अफका बांकी तीन स्थानका लागि सात टिम दौडमा छन् । आईपीएलमा आज साँझ पौने आठ बजे लखनउ सुपर जाइन्टस र मुम्बइ इन्डियन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार