एजेन्सी । साविक विजेता रियल म्याड्रिडलाई पाखा लगाउदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडको १५ पटक च्याम्पियन बन्ने सपनालाई सिटीले चकनाचुर बनाइदिएको छ । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको सिटीले सेमिफाइनलको दोस्रो लेगमा ४–० को उत्कृष्ट नतिजा निकाल्न सफल भयो ।
यो जितसँगै समग्रमा ५–१ को जित निकाल्दै सिटीले फाइनल यात्रा तय गरेको हो ।
सिटीकोको घरेलु मैदान इतिहाद स्टेडियम म्यानचेस्टरमा भएको खेलमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे ।
खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।
७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटीले ३–० को अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गरेपछि सिटी ४–० को सानदार जितसहित फाइनलमा पुगेको हो ।
सिटीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल १० जुनमा टर्कीको इस्तानबुलमा हुने छ ।
प्रतिक्रिया