विराटनगर । नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावतले शनिबार सम्पन्न विराट–बर्जु ‘हाफ म्याराथन’ दौडको उपाधि जितेका छन् ।
२३ किलोमिटरको दूरी १ घण्टा १७ मिनेन्ट २८ सेकेन्डमा पार गर्दै रावतले उपाधि रक्षा गरेका हुन् । १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
‘हाफ म्याराथन’मा सुशीलकुमार शाही द्धितीय र मोहनदेव जोशी तृतीय भएका छन् । शाही र जोशी दुवै जना नेपाली सेनाका खेलाडी हुन् । जोशीले गृहजिल्ला बैतडीबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।
निर्धारित दूरी शाहीले १ घण्टा १८ मिनेट र जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेन्डमा पार गरेको प्रतियोगिता आयोजक समितिका सदस्य किरण गिरीले जानकारी दिए । उनका अनुसार शाहीले ७५ हजार र जोशीले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सेनाकै होमलाल श्रेष्ठ चौथो र श्रीकाश राई पाँचौं तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैठौं स्थान हासिल गरेका छन् ।
श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेन्ड, राईले १ घण्टा ३९ मिनेट ५१ सेकेन्ड र बोगटीले १ घण्टा २० मिनेट ५ सेकेन्टमा निर्धारित दूरी पार गरेका थिए । उनीहरुलाई सान्त्वना पुरस्कारवापत जनही १५ हजार रूपैयाँ प्रदान गरिएको गिरीले बताए ।
विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरबारदेखि सुनसरीको पर्यटकीयस्थल बर्जु तालसम्म दौडको आयोजना गरिएको थियो । खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कोसी प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रालयले ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ नारा दिएर प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा ५४ जना पुरुष खेलाडीको सहभागिता रहेको थियो । विराट राजाको दरबार सङ्ग्रहालय भेडियारीबाट सुरु भएको ‘हाफ म्याराथन’ दौड विराटनगर भन्सार कार्यालय, कोेसी लोकमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक, केशलिया रोड, भीमपुर चोक, रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा पुगेर समापन भएको थियो ।
त्यस्तै, महिलातर्फको ५ किलोमिटर दौडमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छन् । निर्धारित दूरी १९ मिनेट ४ सेकेन्डमा पूरा गरेकी उनले २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा द्धितीय भएकी सशस्त्र प्रहरी बलकी सीमा थारु चौधरीले २० हजार तथा तृतीय भएकी नेपाल प्रहरीकी बिर्सना कुमालले १५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
निर्धारित दूरी चौधरीले १९ मिनेट ११ सेकेन्ड र कुमालले १९ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए । दौडमा विराटनगरकी अंशु मण्डल सान्त्वना भइन् । निर्धारित दूरी २० मिनेट १६ सेकेन्डमा पार गरेकी उनले पुरस्कार स्वरूप १० हजार रूपैयाँ पाइन् ।
महिलातर्फको दौडमा १९ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा १० र ११ वर्षका जुही राई र जुनी राईले पनि सहभागिता जनाएका थिए । भोजपुरका उनीहरु एकैपरिवारका दिदी–बहिनी हुन् । दुवै जनाले प्रोत्साहनवापत ५–५ हजार रूपैयाँ पुरस्कार पनि पाए ।
प्रतियोगिताका विजेता खेलाडीलाई कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार वितरण गरे ।
यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिवद्धता आचार्यले जनाएका छन् । ‘विराट राजाको दरवार एवं बर्जु तालमा थप लगानी गर्नका लागि संघीय सरकारबाट समेत सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘पर्यटनका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्न भारतीयका साथै अन्य विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना सरकारले ल्याउने छ ।’
पुरस्कार वितरण समारोहमा कोसी प्रदेशका प्रदेशसभा सदस्यहरु अमृत अर्याल, रामदेव यादव, मन्त्रालयका सचिव डा= सञ्जीवकुमार राई, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायत सहभागी थिए । उनीहरुले मुलुकको समृद्धिका लागि विराट राजाको दरबार क्षेत्र र बर्जु ताललगायतका पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया