लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइड राइडर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ । हारसँगै कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ ।
इडेन गार्डेनमा घरेलु टोली कोलकाताले टस जितेर फिल्डिङ रोजेको थियो । लखनउले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७६ रन बनायो । ओपनर करन शर्मा ३ रनमै हर्षित रानाको बलमा आउट भए ।
प्रेरक मान्कड र क्विन्टन डि ककले ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । २६ रन बनाएका प्रेरकलाई आउट गर्दै वैभव अरोलाले यो साझेदारी तोडे । लगत्तै वैभवले खाता खोल्न नपाउदै मार्कस स्टोनिसको ठूलो विकेट लिए । कप्तान क्रुनाल पान्डेया पनि ९ रनमा मैदान बाहिरिएका थिए । डि ककले २८ रन जोडे । ७३ रनमा पाँच विकेट गुमाएको लखनउलाई आयुस बडोनी र निकोलस पुरनले अघि बढाए । आयुसले २५ रन जोडे । पुरन ३० बलमा ५८ रन बनाउदै अविजित रहे । वैभव र सुर्दल ठाकुरले २ - २ विकेट लिए।
जवाफमा कोलकाताले ७ विकेटको क्षतिमा १ सय ७५ रन मात्र बनाउन सक्यो । बेन्कटेस ऐअर २४, कप्तान नितिश राना ८ र रामानुल्लाह गुरबाज १० रनमा पभेलियन फर्किए । जेसोन रोयले ४५ रन बनाए । रिंकु सिंहले ३३ बलमा अविजित ६७ रनको इनिङ्स खेले पनि कोलकाताको जितमा पर्याप्त भएन ।
अन्तिम ओभरमा कोलकातालाई २१ रन आवश्यक थियो । यस ठाकुरले सुरुवाती तीन बलमा तीन रन मात्र खर्चिए । अन्तिम तीन बलमा १८ रन चाहिए पनि रिंकुले १६ रन मात्र जोड्न सके । रवि बिसोनी र ठाकुरले २ - २ विकेट लिए । यो जितपछि लखनउ १४ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा रह्यो । यसको अर्थ पहिलो प्ले अफमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । लखनउले एलिमिनेटर खेल्नेछ ।
प्रतिक्रिया