इलाम । इलाम नगरपालिका ४ बरबोटेमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट एक लाख ८९ हजार तीन सय ६४ रकम बचत भएको छ । फागुन १८ गतेदेखि २० गतेसम्म भएको प्रतियोगितामा खर्चबाट सो रकम बचत भएको हो ।
प्रतियोगिता सम्पन्न गर्न पाँच लाख ७० हजार रकम खर्च भएको थियो । दाताको सहयोगबाट सात लाख ५९ हजार नौ सय १४ रुपया संकलन भएको आयोजक बरबोटे ब्याडमिन्टन क्लवका कोषाध्यक्ष तिलक जवेगुले जानकारी दिए ।
उनका अनुसार इलाम नगरपाकिलाबाट एक लाख २२ हजार, इलाम नगरपालिका पाँचबाट ६५ हजार, माङ्सेबुङ गाउँपालिकाबाट ४९ हजार दुई सय २५, सन्दकपुर गाउँपालिकाबाट ३० हजार, उद्योग वाणिज्य संघबाट ३० हजार, माईजोगमाई गाउँपालिकाबाट २४ हजार छ सय आठ रुपयाँ रकम प्राप्त भएको थियो । त्यस्तै बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट समेत रकम प्राप्त भएको उनले जानकारी दिए ।
त्यस्तै पुरस्कार, रेफ्री ब्यवस्थापन, बिद्युत ब्यवस्थापन, कार्यक्रम ब्यवस्थापन लगायतमा खर्च भएको थियो ।
प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता बवरबोटे ब्याडमिन्टन क्लवले आयोजना गरेको थियो । अमर माविको जमिनमा निर्माण भएको बहुउद्देश्यीय कवर्डहलमा प्रतियोगिता सञ्चालन भएको थियो ।
जिल्लामा हुने ब्याडमिन्टन प्रतियोगिता मध्येकै यो सबैभन्दा ठुलो प्रतियोगिता भएको आयोजक समितिका सचिव राजन दाहालले बताए । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
शनिवार आयब्यव सार्वजनिक गर्न प्रतियोगिता सञ्चालन भएको स्थानमा नै पत्रकार सम्मेलन गरिएको थियो । प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन जिल्ला स्थित सञ्चारकर्मी, होटल ब्यवसायी, निर्माण ब्यवसायी लगायत सरोकारवाला निकायले भरपुर सहयोग गरेको भन्दै आयोजक समितिका अध्यक्ष गृष्म सुब्बाले सबैलाई धन्यवाद ज्ञापन गरे ।
उनले सोचेभन्दा बढी साथ पाएको भन्दै आगामी दिनहरुमा समेत प्रतियोगिता सञ्चालन गर्न हौसला बढेको बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलेका खेलाडीहरुले समेत सहभागिता जनाएकाले उनीहरुको खेल कौशल स्थानिय स्तरमा नै नियाल्न पाएकोमा स्थानिय समेत खुसी भएको उनको भनाई छ । प्रतियोगितामा २७ टीमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा मेन्स डबल, भेट्रान्स र जिल्ला स्तरीय छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिएको थियो ।
हिसाव सावैर्जनिक कार्यक्रममा इलाम नगरपालिका वडा नम्वर छ का वडाध्यक्ष मदन श्रेष्ठ, वडा नम्वर पाँचका वडा सदस्य प्रकाश दुलाल, अमर माविका प्रधानाध्यापक सोम निरौला लगायत आयोजक समितिका पदाधिकारी तथा सदस्य स्थानिय समाजसेवी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया