एजेन्सी । इटालियन क्लब युभेन्ट्सले घरेलु लिग सिरी ए प्राप्त गरेको नम्बरबाट पुनः १० अङ्क कटौती गरिएको छ । खेलाडी सरुवामा नियम मिचेको प्रमाणित भएसँगै इटालियन क्लब युभेन्ट्सको १० अङ्क कटौती गरिएको हो ।
खेलाडी सरुवामा नियम मिचेको प्रमाणित भएपछि गत जनवरीमा नै युभेन्ट्सलाई कारबाही गरिएको थियो । सोही कारबाही स्वरूप युभेन्ट्सले प्राप्त गरेको अङ्कबाट १५ अङ्क घटाइएको थियो । तर इटालीको सर्वोच्च खेलकुद अदालतले निर्णयलाई उल्ट्याउँदै उक्त मुद्दा पुनः जाँच गर्न आदेश दिएको थियो ।
लिगबाट १० अङ्क घटाइएसँगै युभेन्ट्स युरोपेली छनोटको स्थानभन्दा बाहिर पुगेको छ । १० अङ्क घटाइएसँगै युभेन्ट्स सिरी ए को सातौं स्थानमा झरेको छ ।
युभेन्ट्सलाई गरिएको कारबाहीको फाइदा उठाउँदै नेपोलीले सिरी ए को उपाधि जितिसकेको छ । कारबाहीमा परेसँगै युभेन्ट्सको ५९ अङ्क भएको छ । युभेन्ट्सले अब लिगमा २ वटा खेल खेल्न बाकी रहेको छ । आउने सिजनमा युरोपेली खेल प्रतियोगितामा इटालीको उत्कृष्ट फुटबल क्लवहरु मध्यको एक युभेन्ट्सको अनुपस्थिति रहने पक्का भएको छ ।
क्लबलाई कारबाही भए पनि क्लबका अधिकारीहरू पाओलो गारिम्बर्टी, एसिया ग्राजियोली भेनियर, क्याटलिन मेरी ह्युजेस, ड्यानिएला मारिलुङ्गो, फ्रान्सेस्को रोन्काग्लियो र एनरिको भेलानोसँगै नेदवेदलाई भने सफाइ दिइएको बताइएको छ ।
पूर्व अध्यक्ष एन्ड्रिया एग्नेली, पूर्व प्रमुख कार्यकारी माउरिजियो अरिभाबेने र खेल निर्देशकहरू फेडेरिको चेरुबिनी र फाबियो पाराटिसीलाई दिइएको लामो प्रतिबन्ध भने कायम गरिएको छ ।
प्रतिक्रिया