काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्नेछ।
उद्घाटन खेल असार ३ गते हुने भएको छ। उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपाल भिड्ने भएका छन्। उद्घाटनको दिन दुई खेल रहेको छ ।
नेपालले दोस्रो खेलमा असार ५ गते अमेरिकासँग र तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ गते खेल्ने तालिका रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्याण्डससँग खेल्नेछ ।
जिम्बावेविरुद्ध असार ३ गते हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल पनि हुनेछ। विश्वकप छनौटमा दश राष्ट्रको सहभागीता रहने छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, , नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।
समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन्। आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
प्रतिक्रिया