उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

आइतबार, १४ जेठ २०८०
काठमाडौं । नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा उज्वेकिस्तानलाई ४ - १ को सेटमा पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो । नेपालले पहिलो सेट २५-२० ले उज्वेकिस्तानलाई सुम्पिएको थियो । त्यसपछि पुनरागमन गरेको नेपालले दोस्रो सेट २५-१६ले जित्यो । यस्तै तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो । सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । घरेलु टोली नेपालविरुद्ध उक्त पराजयको बदला लिन फेरि एकपटक उज्वेकिस्तान चुक्यो । प्रतियोगिताको सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल भएको हो । सेमिफाइनलमा काजखस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा अग्रता बनाएको थियो । तर चौथो र पाँचौ सेटमा लय गुमाउँदा घरेलु समर्थक निराश बने । अर्को सेमिफाइनलमा उज्वेकिस्तानको चुनौती भारतले सोझो सेटमा पन्छाएको थियो । जितसँगै यान डि ब्रान्डको प्रशिक्षण र अरुणा शाहीको कप्तानीमा रहेको नेपालले तेस्रो हुँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यो खेलपछि नेपाल एसियाली खेलकुदको तयारीमा जुट्नेछ । नेपालको महिला भलिबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । उपाधिका लागि आजै भारत र काजखस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए । जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार