झापा । झापाको बिर्तामोडमा राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । जेठ २७ र २८ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता’ हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो ।
एकेडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले पुरुष र महिलाका विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट रहने बताए । प्रतियोगितामा सात प्रदेश र आयोजक टिम गरी आठ टीम सहभागी हुने छन् ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरी २०० भन्दा बढीको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ त्यस्तै दोस्रो हुने टिमले नगद सात हजार, तेस्रोले नगद चार हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।
प्रतिक्रिया