‘सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’

मंगलबार, ०२ साउन २०८०
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको पहिलो जिम्मेवारी वर्तमान सत्तारुढ गठबन्धनलाई स्थिर र स्थायी बनाउनु रहेको जनाएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार उनले सरकारलाई स्थिर बनाउन संसद्‌भित्र कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको दाबी पनि गरे । उनले कानुन निर्माणमा गठबन्धन दलहरुकै बीचमा हुने फरक विचारमा पनि सामञ्जस्यता गरेर जानुपर्ने अवस्था रहेको जनाए । ‘हाम्रो पहिलो जिम्मेवारी भनेको अहिलेको गठबन्धनलाई स्थिर र स्थायी बनाइराख्नुपर्ने पहिलो जिम्मेवारी छ । विभिन्न राजनीतिक दलहरुको गठबन्धनमा सरकार बनेको छ, त्यो सरकारलाई स्थिर बनाउन, स्थायी बनाउनको निमित्त सदनभित्र नेपाली काँग्रेसले सबैभन्दा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपरेको छ । गठबन्धनभित्र कानून निर्माण गर्ने सवाल र कतिपय नितिगत तथा व्यवहारिक सवालहरुमा गठबन्धन भित्रै उत्पन्न हुने विभिन्न विचारहरुका बिचमा पनि सामञ्जस्य गरेर काँग्रेस अगाडी जानुपर्ने अवस्था छ ।’ संसद्‌भित्र प्रमुख प्रतिपक्ष दल आक्रामक रहेको उल्लेख गरे । कांग्रेसले सत्तारुढ दलहरुभित्र मात्रै होइन प्रतिपक्ष दलहरुसँग समेत समन्वय गर्नुपर्ने उनको धारणा छ । ‘प्रतिपक्ष आक्रामक छ । प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ । अरु प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । र नयाँ-नयाँ संसदीय अभ्यासमा भएका हुनाले यदाकदा अपरिपक्वता पनि देखिराखेको अवस्था छ,’ लेखकले भने, ‘सत्ता गठबन्धनभित्र मात्रै सामञ्जस्यता र समन्वयकारी भूमिका होइन कि प्रतिपक्षसँग पनि सामञ्जस्य र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सु-सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको छ ।’ उनले संसदीय समितिका सभापतिको चयन तत्काल गर्नुपर्नेमा जोड दिए । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयकहरु तत्काल पारित गर्नुपर्ने पनि उनको भनाइ छ । लेखकले पार्टीको संसदीय दलको कार्यसमिति तत्काल बनाउनुपर्ने, विषयगत समितिलाई पनि नियमित गर्नुपर्ने र संसद् बैठकमा पार्टीका सांसदहरुको नियमित उपस्थिति हुनुपर्ने कुरामा पार्टीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार