हामीजस्तो कोही छैन भन्यौं भने सक्किन्छौं : गगन

शनिबार, ०६ साउन २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका छन् । पोखरामा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताए । ‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन, त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन’, महामन्त्री थापाले भने, ‘तर सँगसँगै खहरे हुन्, यी (नयाँ पार्टीहरु) केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’ कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए । ‘पार्टी सञ्चालनको तरिका हामीले बदल्नै पर्छ । बदलिएको कांग्रेसचाहिँ बलियो कांग्रेस हुन्छ’ उनले भने, ‘कांग्रेस कसैले बदल्नुपर्दैन भन्यो भने त्यो पार्टीको हितमा छैन, कांग्रेस सक्कियो सक्कियो भन्यो भने पनि पार्टीको हितमा छैन । पार्टीको हित के मा छ भने कांग्रेस बदलौं, बदलेको कांग्रेसले जनताको विश्वास आर्जन गरौं । त्यही कांग्रेस नै नेपालको विकल्प हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार