काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरे ।
उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्न नहुने बताए ।
‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिसन छैन । हाम्रो पार्टीको भिजन छैन, त्यो होइन । हाम्रो पार्टीको मिसन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं । उच्च मनोबलका साथ जनतामा जान्छौं । हामी त खत्तम भइसक्यौं । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौं भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनआधार जुन विस्तार गर्ने लक्ष्य राखेका छौं एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौं । त्यो पूरा हुन सक्दैन,' उनले भने, 'त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्ने कुरा हामी कहीँकतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौं भने, जनताको बीचमा गयौं भने नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न सक्दैन । त्यसमा दुईमत छैन । त्यसैले मूलभूत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो ।'
उनले आपसमा गालीगलौज नगरी एकतावद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए । उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको पनि बताए । 'पार्टीमा मतभिन्नताहरु हुन सक्दछन् । एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला । तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौं,' उनले भने, 'मलाई व्यक्तिगत रुपमा मन नपर्न सक्छ । हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटमलाइनमा हामी एक हुने कि नहुने ?'
प्रतिक्रिया