जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

शनिबार, १३ असोज २०८०
जनकपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’ जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औंल्याउँदै उनले भने, ‘‘धार्मिक पर्यटनमार्फत् नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’ मधेश प्रदेशमा विकासको ठूलो सम्भावना रहेको उनले बताए । ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पुर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ । पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ । हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ’ मन्त्री महतले भने । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे । ‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । साथीहरुले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ, यसले मलाई उत्साहित बनाएको छ’ उनले भने । अर्थतन्त्रमा समस्या भए पनि विस्तारै न्यून हुने बाटोमा अग्रसर रहेको दाबी उनको थियो । ‘परिणाम आउन केही समय लाग्छ, तर सुरुवात भएको छ । अब सकरात्मक बहसको आवश्यकता छ, अब यहाँ केही हुन्छ भन्ने आत्मविश्वास बढाउनुपर्छ’ मन्त्री महतले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार