खसीबोकाको बिक्री घट्यो, उचित मूल्य नपाउदा किसान मारमा

शुक्रबार, ०३ कार्तिक २०८०
धरान । धरानको कृषि बजारमा विक्री गर्न ल्याएको खसी बोकाले उचित मुल्य नपाउँदा किसान मारमा परेका छन् । गत वर्षको तुलनामा यस पटक खसी बोकाको मूल्य घटेपछि किसान मारमा परेका छन् । गतवर्ष जिउदो खसीको मूल्य प्रति केजी ६ सयसम्म विक्री भए पनि यसवर्ष बढीमा प्रतिकेजी ५ सय ५० का दरले मात्र विक्रिी भइरहेको छ । कोसी पहाडी जिल्लाहरुबाट गत वर्ष झै खसी बोका कृषि बजार धरान भित्रिएका छन् । राम्रो मूल्य पाउने आशाले किसान आफैले दशैका समयमा खसीबोका विक्रीकालागी बजार ल्याउने गरेका छन् । गाउँमा पाएको मुल्य भन्दा कम दाममा विक्री गर्नु परेको धनकुटाका कृषक टिकाराम राई बताउँछन् । ‘हाम्रो लागत मुल्य भन्दा कम दाममा माग्छन् कसरी दिनु घाटा खाएर’ राईले भने ‘पोहोर साल भान्दा यसपाली यो बजारमा २५–३० प्रतिशत घाटा खाएर खसी बोका बेच्नुप¥यो ।’ मोरङको बेलबारीबाट खसी विक्रीका लागि आएका कृषक तथा व्यापारी गोपाल प्रसाद नेपालले आर्थिक मन्दी कै कारण बजारमा त्यती उत्साह नभएको बताए । ‘आर्थिक मन्दी छ यो मैले पनि महसुस गरेको छु’ उनले भने ‘उपभोक्ताले सामान किन्न खोज्छ पैसा नै छैन ।’ त्यो त गत वर्ष दशैमा २० वटा खसी विक्री गरेका व्यापारी गोविन्द भण्डारीको पीडा पनि उस्तै छ । यस पटक उनले चार वटा मात्र खसी विक्री भएको भन्दै बाँकी खसी विक्री गर्न गाह्रो भएको सुनाए । ‘गत वर्षको दशैमा २० वटा बेचेको थिँए तर, यस पटक बल्ल बल्ल चार वटा बेच्दैछु’ भण्डारीले भने ‘खै अब यो के भन्ने मन्दी कै कारणले बजार डामाडोल छ ।’ धरानमा पूर्वी कोशी पहाडी जिल्ला तथा झापा, मोरङदेखिका खसीबोका विक्रिकालागी आउने गरेका छन् । धरानबाट काठमाडौसम्म खसीबोका खपत हुने गरेको छ । गत वर्ष दशैको सिजनमा कृषि बजारमा २४ करोड बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा १५ देखी २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरिएपनि यस वर्ष गत वर्ष भन्दा करिब १५ प्रतिशत कारोबारमा ह्रास आएको कृषि बजार व्यावस्थापन समितिका बजार व्यावस्थापक लक्ष्मण भट्टराईले बताए । ‘हामीले अष्टमीको अघिल्लो दुई हप्तालाई दशैको बजार मान्ने गरेका छौ । गत वर्ष १२ हजार वटा खसी बोका (२४ करोड बराबर)को कारोबार भएको तथ्याङ छ’ भट्राईले भने ‘यस पटक कारोबार करिब १५ प्रतिशतले कमी हुने देखिएको छ ।’ बजारले गत वर्षको कारोबारलाई हेरेर यस वर्ष १५ देखी २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरेको थियो । ‘कारोबार जहिले पनि १५ देखी २० प्रतिशत बढी नै हुँदै आएको थियो । यस वर्ष पनि हामीले त्यही आकलन गरेका थियौ तर, त्यस्तो भएन उल्टै गत वर्षको कारोबारमा समेत १५ प्रतिशत कमी हुने देखियो ।’ आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा खरिद विक्रीमा कमी आएको सुनसरी उद्योग बाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले बताए । दशैको बजारमा चहल पहल भएपनि खरिद विक्रीमा धेरै कमी आएकाले व्यापारीहरु चरम मारमा परेको श्रेष्ठको भनाई छ । ‘विश्वमा नै अहिले आर्थिक मन्दी छ । आर्थिक मन्दीको नेपालमा पनि ठुलो असर पुगेको छ’ अध्यक्षले श्रेष्ठले भने ‘सरकारले अहिले निर्माण व्यावसायिहरुको भुक्तानी दिन सकेको छैन हामी व्यावसायीहरुले भुक्तानी नपाएपछि कहाँबाट काम गर्नेलाई तलब दिनु हो यही कारण पनि आर्थिक मन्दी छाएको हो ।’ दसैको बजारमा चहल पहल भएपनि २०–२५ प्रतिशत पनि विक्री नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘दशैको बजारमा चहल पहल त छनी तर, विक्री छैन ।‘ उनले भने ‘२०–२५ प्रतिशत पनि विक्री छैन । धरानका धेरै उद्योगी व्यावयाीहरु पलायन हुने अवस्थामा पुगिसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार