काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छिन् ।
सोमबार विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने उल्लेख गरेकी हुन् ।
विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिँदै अब यसबाट धेरै सुधार आउने बताईन् ।
मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौ बजेट विनियोजन हुने गरे पनि बिच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताइन्। शर्माले भनिन , “अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो । विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक वाकी बजेट सम्बन्धित मिडियामा जाने छ ।” यसमा कडाइ गर्न शर्माले बोर्डलाई निर्देशन समेत दिइन् ।
अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको बताउँदै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहेको बताइन् । “अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ । त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन् । त्यति विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भई राखेको छ” मन्त्री शर्माले भनिन्, “जसले गर्दा सम्बन्धित मिडियाले ऐन बमोजिम सेवा सुविधा परेको कुरा तोकिएको पारिश्रमिक दिन नसक्दा श्रमजीवी पत्रकार मिडिया सञ्चालकबिच द्वन्द्व भएको देखिरहेका छौँ ।”
उहाँले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउँदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिइन् ।
विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।
शर्माले भनिन्, “हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्ने बारेमा बाटो खोज्दै छौँ । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन् । अरू के कस्ता समस्या छन् भन्नेमा तपाईँहरू भुक्तभोगी हुनुहुन्छ । विज्ञ साथीहरू आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने छ भन्ने विश्वास लिएको छु ।”
प्रतिक्रिया