कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराए । अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ ।केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै (६७४३) वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए । अभियान मूलतः वडा केन्द्रित रहने छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने कांग्रेसले जनाएको छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारीका साथै सदस्यहरु परिचालित हुनेछन् । साथै विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई समेत कांग्रेसले अभियानमा एकसाथ परिचालन गर्ने जनाएको छ । आजबाट सुरु हुने अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन पारेर समापन गर्ने कांग्रेसले तय गरेको छ ।
प्रतिक्रिया