बालुवाटारमा छलफलमा बसेका एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष दाहाल, रास्वपाका सभापति लामिछाने एवं तीनै दलका केही शीर्ष नेता लिएर राजनीतिको नयाँ समीकरण बनाउन बसेको बैठकले नयाँ सरकार गठन गर्ने निश्चित गरेको हो । दलहरुले नयाँ समीकरण बनाए पनि कसको भागमा के पर्छ भन्ने प्रष्ट हुन बाँकी छ । यसले नेपाली सत्ता राजनीतिको आगामी चित्र कस्तो हुने भन्ने हेर्न बाँकी नै छ ।गठबन्धनको भविष्य समाप्त पार्ने कारणमध्ये कांग्रेसका दुई मन्त्रीलाई फिर्ता बोलाउने र राष्ट्रिय सभा अध्यक्ष लिन कांग्रेस माओवादीको आ–आफ्नो अडान नछाडेको विषय सतहमा देखिए पनि पछिल्लो समय माओवादी उपमहासचिव वर्षमान पुनको सक्रियतालाई नजरअन्दाज गर्न सकिँदैन । यसमा उत्तर अघि बढ्यो कि दक्षिण पछाडि प¥यो भन्ने विस्तारै स्पष्ट हुँदै जाला । तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ३२ सिटको खुब फाइदा उठाइरहेका छन् । तेस्रो दल भएपनि चौथो पटक प्रधानमन्त्री बन्ने सौभाग्य दाहालकै माथामा परेको छ । एमालेलगायत ७ वटा राजनीतिक दल र केही स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल वर्तमान गठबन्धन फुटाएर अब कम्युनिष्टसँग नयाँ गठबन्धनको नेतृत्व गर्दै राजनीतिक यात्रामा चौथो पटक प्रधानमन्त्री बन्नेछन् । वर्तमान गठबन्धन सत्ता साझेदार कांग्रेससँगको खटपटपछि नयाँ गठजोड गरेका दाहालले एमाले र रास्वपालाई साथमा लिएर तीन दल सम्मिलित सत्ता गठबन्धनको तत्कालिन नयाँ मोडल बनाएका छन् ।
प्रधानमन्त्रीको चौथो पटक उपमा लिन केही पाइलामात्रै पछि रहेका दाहालका लागि वर्ष २०८९-८० सरकारको नेतृत्व लिने हिसाबले धेरै हदसम्म सफल पनि रह्यो । २०८९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले कांग्रेस लगायतसँग मिलेर सरकारको नेतृत्व गरेको सोमबार १ वर्ष दुई महिना ११ दिन पुगेको छ ।संयोग के भने गत पुस १० गते सोमबार प्रधानमन्त्रीको शपथ लिएका दाहालले सोमबार नै नयाँ कार्यकालको प्रधानमन्त्रीका लागि नयाँ मोडल तयार पारे । तर त्यसलाई एमालेले आफ्नो हिसाबले अझै अनुमोदन गरिसकेको छैन । एक वर्ष २ महिना मै कांग्रेससँगको गठबन्धन टुटाएर दाहालले आफ्नै नेतृत्वमा पुनः कम्युनिष्टसँग मिलेर नयाँ सरकार बनाउने भएसँगै यतिबेला केन्द्रदेखि सातै प्रदेशको राजनीतिको समिकरण फेरिने स्पष्ट छ । कोशीमा बाहेक सबै प्रदेशका मुख्यमन्त्री धरापमा छन् नै । अस्थिर राजनीतिले देशलाई कता लैजाने हो जनजनमा कौतुहलता पैदा गरेको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० गरी नयाँ गठबन्धनमा १ सय ३० जना सांसद छन् ।
प्रतिक्रिया