सुरुमा कोरिया पठाउने भनेर इलाम नगरपालिका ७ को ठुलो टुँडिखेल छेउमा राईले ट्रेनिङ सेन्टर सञ्चालन गरेर काम सिकाए । उनले एसइई स्किल ट्रेनिङ सेन्टर नामक कम्पनी नै खोलेर कोरिया पठाउने भनेर काम थाले । पछि उनले पठाउन नसक्ने भन्दै इलामकै नेत्र पोख्रेलले झापाका ट्रेनिङ सेन्टर सञ्चालन गरेर नै काम थालेका हुन् । करिब एक वर्ष अगाडीदेखि नै युवाहरूलाई केही व्यक्तिले यसरी मनपरी रकम असुल्ने काम गरिरहेका छन् ।सामान्य जीवनयापन गर्न काम छाडेर इलामका युवाले कोरिया पठाउँछु भन्नेहरूलाई रकम बुझाएका थिए । सात दिनदेखि एक महिनामा कोरिया पुगिसक्ने आश्वासन पाएका युवा एक वर्षदेखि पर्खिरहेका छन् । अझै पनि उनीहरू कोरिया जान सक्ने कुनै पनि विश्वासिलो आधार भेटाएका छैनन् ।
राम्रो कमाई हुने आशामा इलाम देउमाईका दीपक आचार्यले गत वर्षको फागुनमा वल्डिङको तालिम लिएका थिए । सुरुमा ९१ हजार लगानी गरेर तालिम लिएका उनले पुनः काठमाडौँमा स्किल टेस्टका लागि भन्दै थप २४ हजार रकम थप गरेका थिए । उनीसँगै रमेश कट्टेल र वसन्त पोख्रेलले समेत उस्तै लगानी गरे । निकै राम्रो कमाई हुने सपना बाँडेर तालिम दिइए पनि कोरिया पठाउँछु भन्नेले विभिन्न वहानमा नपठाएको उनीहरूले बताए ।
पछि कोरिया पठाउन नसकेपछि गएको मङ्सिर अन्तिममा उनीहरूले एक लाख रकम फिर्ता पाएका थिए । सीप सिकुन्जेलको खर्च, काठमाडौँमा करिब एक महिनाको बसाई लगायतमा अन्य रकम खर्च भए पनि तालिम सिकाउने सुरेन्द्र राईलाई एक लाख १५ हजार रकम दिएका थिए । तर उनीहरूले १५ हजार पाएनन् । उनीहरू त प्रतिनिधिमूलक पात्र मात्र हुन् ।
भीम बिसुंखे, विनोद न्यौपानेलगायतले इलाम बजारमा व्यवसाय गर्दै आएका थिए । उनीहरूले कोरिया गएर मोटो रकम कमाउने आशाले गर्दै आएको व्यवसाय नै छोडेर कोरियाको चक्करमा लागेका थिए । व्यवसायी मात्र होइन सरकारी कर्मचारी समेत उत्तिकै सङ्ख्यामा कोरियाको चक्करमा लागेर पैसा तिर्दै तालिम लिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत स्थायी कर्मचारी प्रकाश न्यौपाने समेत तालिम लिए । धन्न उनले जागिर भने छोडेका थिएनन् । जिल्ला प्रशासन कार्यालय इलाममा नै कार्यरत सुदीप काफ्लेले समेत सीप सिकेर कोरिया जाने बाटो समाएका थिए । उनीहरूले समेत पछिल्लो समय पैसा फिर्ता लिइसकेका छन् । तालिम लिएकै अन्य केहीले रकम मागेकै छैनन् । केहीको लाखौँ रकम डुबिसकेको छ ।
प्रतिक्रिया