विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ पहिलो सातामात्रै सरकार विस्तार हुने बताएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मञ्च कोशीका पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार विस्तारमा अझै केही दिन पर्खनुपर्ने बताएका हुन् ।
नयाँ समीकरण परिवर्तन भएसँगै माओबादी सरकारबाट बाहिरिएर सहयोग गरेको बताउँदै कांग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने उनको भनाइ छ । संविधानको धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिन पुग्न लागेको बताउँदै उनले प्रदेश सरकारमा विकासका कामसमेत भएको दाबी गरे ।
उनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या बढ्नसक्ने बताए । तर, अहिले कांग्रेस र एमालेबीच मन्त्रालय नबढाउने सहमति भएको उनले बताए ।
‘कामको चापको आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ,’ उनले भने, ‘तर अहिले त्यो सम्भावना छैन । अहिले कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । यि मन्त्रालयमध्ये कांग्रेसको भागमा ४ र एमालेको भागमा ५ मन्त्रालय रहनेगरी सहमति भएको छ ।’
उनले स्थानीय तहले पर्यटक गाडीलाई पालिकैपिच्छे कर लिने प्रचलन हटाउनसमेत पहल गर्ने बताए। सरकारले कोशी प्रदेशको लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेको पनि जनाए ।
यस्तै, नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने मुख्यमन्त्री कार्कीले बताए । पर्यटन र कृषिको क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रीत रहने बताउँदै उनले आगामी तीन वर्षभित्रमा प्रदेशको ओैचित्य पुष्टि गर्नेगरी काम गर्ने उनले बताए ।
प्रतिक्रिया