काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी 'निर्वाचन आचारसंहिता–२०८२' को मस्यौदा सल्लाह तथा सुझावका लागि जारी गरेको छ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता कायम गर्दै भयमुक्त वातावरण सुनिश्चित गर्न आयोगले यो कदम चालेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको यस मस्यौदामा १० वटा परिच्छेद र पाँच वटा अनुसूचीहरू समावेश गरिएका छन्।
नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको निर्वाचन आचारसंहिता २०७९ खारेज हुने आयोगले जनाएको छ। यस पटकको आचारसंहितामा केही नयाँ र कडा प्रावधानहरू समेटिएका छन्, जसअन्तर्गत आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा निकायको नाम सार्वजनिक गरिने व्यवस्था गरिएको छ।
यस्तै, आचारसंहिता पालना र अनुगमनमा विद्युतीय माध्यम वा सूचना प्रविधिको उच्च उपयोग गर्ने रणनीति आयोगले लिएको छ। मस्यौदामा राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।
प्रतिक्रिया