विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी बनाउने अभियान चलिरहेको बताएका छन् ।
‘हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं,’ उनले भने, ‘अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन ।’ विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रलाई अहिले सरकार बनाउने रुची नभएको स्पष्ट पारे ।
माओवादीलाई सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित रहेको उल्लेख गर्दै प्रचण्डले र देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरिएको बताए । पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै नेपाली कांग्रेस र नेकपा ९एमाले०लाई धन्यवाद भनिसकेको उनको भनाइ छ ।
‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ दाहालले भने । उनले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण टिक्न नदिइएको जिकिर दाहालले गरे । भने, ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन । एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपत्ति हो ।’
दाहालले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको दाबी गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो नि त, त्यसले त काम गर्दो रहेछ त रु सतर्क हुन जरुरी छ । मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन,’ उनले भने ।
उनले उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार समानुपातिक र समावेशी नै भएको बताए । ‘त्यो अधिकारलाई कुनै तरिकाले कमजोर पार्ने काम सह्य हुँदैन । मैले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउनकै लागि त्यत्रो विद्रोह र आन्दोलनको नेतृत्व गरेको हुँ,’ उनले भने ।
दाहालले संविधानसभाबाट एकहदसम्म जनतालाई अधिकार प्राप्त भएको पनि बताए । ‘सबैभन्दा धेरै अधिकार मधेसी र मुस्लिम समुदायले पाएका छन् । नागरिकताको समस्यादेखि मिटरब्याजको समस्या समाधान गर्न कानुन बनाएरै काम गरेका छौं । मधेसमा लाखौं युवा नागरिकताविहीन थिए । मधेसका जनताले माओवादीलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया