सञ्चार मन्त्रालयको शतप्रतिशत उपलब्धि गरेको दाबी 

मंगलबार, ०६ कार्तिक २०८१
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको सय दिनको कार्ययोजना शतप्रतिशत पूरा गरेको दाबी गरेको छ । मन्त्रालयलाई तोकिएको लक्ष्य र जिम्मेवारी पूरा हुनमा सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको तदारुकता र कर्मचारीको उच्चस्तरको कार्यसम्पादन रहेको मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । मन्त्रालयलाई दिइएका १५ वटा कार्य समयमै पूरा गरेको उनले जानकारी दिए । राससको सेवा २४ सै घण्टा सञ्चालन हुनु, रासस सङ्ग्रहालय खोल्नु, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालन गर्नु पनि मन्त्रालयको सय दिने कार्ययोजना अनुसार नै सम्पन्न भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए । त्यस्तै, मन्त्रालयले सय दिने कार्ययोजनामा गोरखापत्रमा ४३ भाषामा एक राना थारु भाषा थप गरेर ४४ भाषामा समाचार सम्प्रेषण गर्नु, रेडियो नेपालमा दनुवार भाषा थप गरेर २५ वटा मातृभाषामा समाचार सेवा सञ्चालन गर्नु, हुम्लामा फाइवर टु द होम (एफटिटिएच) विस्तार गर्नु, तालिम सञ्चालन, सुरक्षा अडिट सम्पन्न, फिक्सड फाइबर विस्तार, मोबाइल सेवा विस्तार, फोरजी (एलटिइ) प्रयोगकर्ता २ प्रतिशत थपगरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार गर्नेलगायत काम पूरा गरेको मन्त्रालयले जनाएको छ । प्रवक्ता ठाकुरले सीमित स्रोतसाधानमा महत्त्वपूर्ण काम सम्पादन पूरा गर्नु चुनौतीपूर्ण रहेको बताए । “भौगोलिक चुनौती र सीमित स्रोतसाधनमा काम सम्पादन गर्नु सजिलो थिएन”, उनले भने, “यसमा मन्त्रालय मातहतका कर्मचारी, प्रमुखको कडा परिश्रम र मन्त्री एवं सचिवको प्रोत्साहनले समयमै लक्ष्य पूरा गर्न सम्भव भएको हो ।” उनकाअनुसार मन्त्रालयले पूरा गरेको काम एकल नभई सामूहिक सहकार्यको प्रतिफल रहेको बताए । आगामी त्रैमासिक कार्ययोजना अझै गुणस्तर र प्रभावकारी ढङ्गले सफल बनाउन जुझारु रहेको उनको विश्वास छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार