विराटनगर : मोरङको सुनवर्षीबाट तास खेल्दै गरेका ४ जनालाई प्रहरीले बिहीबार साँझ एक लाख ८२ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ वर्षीय सुरेशप्रसाद साह, सुनवर्षी–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपालिका–७ का ४६ वर्षीय उमेश पौदार रहेका छन् ।
उनीहरूलाई कहरसिंह राजवंशीको घरको कोठामा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले साँझ ५ः३० बजेतिर तासको खालमा छापा हानेको थियो । खालबाट ३ बुक ताससहित १ लाख ८२ हजार रूपैयाँ बरामद भएको जोशीले बताए ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया