मुख्यमन्त्री भने अधिकारीको मुद्दाको छिनोफानो नहुन्जेलसम्म मन्त्री नियुक्त गर्ने मुडमा देखिँदैनन् । कानूनविपरीत जापान गएका पूर्व मन्त्री अधिकारीसहित ९ जनालाई मानव तस्करी तथा किर्ते प्रकरणमा काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार नै अनुमति दिइसकेको अवस्था छ ।
प्रदेशका महत्त्वपूर्ण मन्त्रालय नै कामचलाउ
अर्कोतर्फ काँग्रेसको संस्थापन इतर समूह सरकारमा सहभागी नहुँदा प्रदेशको स्वास्थ्य मन्त्रालय समेत भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले नै हेरिरहेका छन् ।
जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा नै कामचलाउ मन्त्री हुँदा असर पर्ने सरोकारवालाहरू बताउँछन् । अर्कोतर्फ शीतलहर र जाडोको मौसम सुरु हुँदै गर्दा कामचलाउ अवस्थामा रहेका दुवै मन्त्रालय नागरिकका सवालमा महत्त्वपूर्ण मन्त्रालय रहेका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेसको सहकार्यमा सरकार गठन भए पनि कोशीमा नेपाली काँग्रेसको संस्थापन इतर समूह २ मन्त्रालय नभई सरकारमा नजाने अडान कसिरहेको छ । बरु सो समूह कोशी सरकारको चर्को विरोधमा उत्रिएको छ ।
प्रदेशमा बनेको सत्ता साझेदार दलको संयन्त्रमा समेत संस्थापन इतर समूहका सांसद सहभागी भएको अवस्था छैन ।
केन्द्रको निर्णयअनुसार बनेको संयन्त्रमा नेकपा एमालेबाट पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा हुँदा काँग्रेसबाट प्रदेश सभापति एवं दलका नेता उद्धव थापा र मन्त्री भूपेन्द्र राई मात्रै रहेका छन् ।
संयन्त्रमा काँग्रेसको तर्फबाट सभापतिले तोकेको प्रदेश महामन्त्री उमेश थापा सदस्यमा थपिने उल्लेख गरिएको छ ।
अहिलेको अवस्थामा काँग्रेसभित्र पनि मन्त्री पठाउने नपठाउने विषयमा अहिले छलफल नै भएको छैन । ‘माथिबाट कसको नाम आउँछ त्यो पनि आएको छैन,’ काँग्रेसबाट बनेका एक मन्त्रीले भने, ‘पार्टीभित्र सहमति भए राम्रो पनि हुन्थ्यो, त्यो चैँ भइरहेको अवस्था छैन ।’
प्रतिक्रिया