काठमाडौँ : गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बीमा दावी भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँ बराबर भुक्तानी भएको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ। नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दावी सम्पत्ति बीमामा परेको छ।
यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ। त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ रुपैयाँ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ। मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ। त्यसमा ४१ करोड ५३ लाख ४४ हजार रुपैयाँ बराबरको दावी रकम माग गरिएको छ।
मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ। त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दावी रकम माग भएको छ। सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ। त्यसमा चार करोड चार लाख ९७ हजार बराबर रुपैयाँको रकम माग भएको छ।
पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ रुपैयाँ बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ रुपैयाँ बराबरको माग दावी भएको छ। विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ रुपैयाँ बराबरको माग दावी भएको छ।
प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ। मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ। बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ।
गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ। कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ। त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया