घटनाका विषयमा जानकारी पाएपछि प्रहरीको टोली खटाइएको भए पनि हालसम्म कुनै संलग्नलाई पक्राउ गर्न नसकिएको व्यापारीहरूले गुनासो गरेका छन्।
घटनाको छानबिन तथा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल नेतृत्वको टोली परिचालन गरिएको छ।
साथै, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट थप टोली खटाइएको छ। डीएसपी दाहालले छिट्टै संलग्न पक्राउ गरिने बताएका थिए, तर घटनाको अनुसन्धान अपेक्षित गति लिन नसकेको स्थानीय व्यापारीहरूको भनाइ छ।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै भने, “मुख्य चोकमै यस्तो ठूलो चोरी हुनु, त्यो पनि प्रहरी कार्यालयनजिकै, सुरक्षाको गम्भीर कमजोरी हो। यदि प्रहरीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरेको भए यस्तो घटना हुने थिएन।”
वडाध्यक्ष रविन लामाले पनि प्रहरीको भूमिकामाथि शंका व्यक्त गर्दै भने, “व्यापारीहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ, तर प्रहरीको उपस्थितिबाट सुरक्षा प्रत्याभूति हुनुपर्छ। प्रहरी कार्यालय नजिकै यस्तो घटना हुनु गम्भीर विषय हो।”
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान जारी रहेको र दोषी पहिचान गर्न सीसीटीभी फुटेज लगायत अन्य प्रमाणहरूको विश्लेषण भइरहेको बताए। साथै, प्रहरीको लापरबाही भए आवश्यक कारबाही गरिने उनको भनाइ छ।
प्रतिक्रिया