मोरङमा राहदानी बनाउन २ महिना पर्खनुपर्ने टोकन प्रणाली हट्यो, एक दिनमै हुन्छ काम

सोमबार, ०४ चैत्र २०८१
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी सेवा प्रवाहका लागि लागू गरेको टोकन प्रणाली हटाएको छ । सेवालाई चुस्त दुरुस्त बनाउँदै राहदानी वितरण प्रक्रियालाई प्रभावकारी बनाउन टोकन प्रणाली हटाइएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेले अहिले राहदानीको सेवालाई सहज बनाइएको बताए । ‘यसअघि टोकन प्रणाली लागू गरिएको रहेछ । टोकन प्राप्त गरेका सेवाग्राहीले २ महिनापछि मात्रै ‘बायोमेट्रिक’ गराउन पाउने रहेछन्,’ उनले भने, ‘तत्काल काम नभएपछि सेवाग्राही निराश भएर फर्किनुको विकल्प थिएन । तर, टोकन प्रणाली हटाएर झन्झटिलो प्रक्रियाको अन्त्य गरिएको छ ।’ टोकन प्रणालीको अन्त्य गरेपछि सेवाग्राहीले एकै दिनमा राहदानीको सेवा लिने वातावरण बनेको पोखरेलले बताए । प्रक्रिया पूरा गरेर राहदानी विभागमा पठाएपछि छापिएर आउन भने १५ देखि २५ दिन जति लाग्ने उनको भनाइ छ । विभागले ‘प्रिन्ट’ गरेर मोरङ पठाएपछि मात्रै सेवाग्राहीको हातमा राहदानी पर्दछ । ‘सामान्य राहदानीका लागि प्रक्रिया पूरा गर्न नै २ महिनासम्म पर्खनुपर्ने अवस्था आउनु दुःखद हो । तर, सेवाग्राहीले सास्ती भोगिरहेको त्यो अवस्थाको अन्त्य भइसक्यो । अहिले सहज भएको छ । सेवाग्राहीले दुःख पाउने अवस्था आउन हुँदैन । छिटोछरितो सेवा प्रवाह हाम्रो प्राथमिकतामा छ,’ सहायक प्रजिअ पोखरेलले भने । उनका अनुसार प्रशासन कार्यालय अहिले बिचौलियाविहीन छ । ‘प्रशासनलाई बिचौलियाविहीन बनाइसकियो । अहिले राहदानीको प्रक्रिया एकै दिनमा पूरा हुन्छ । आवश्यक कागजातसहित उपस्थित भएका सेवाग्राहीले दोस्रो दिन आउन नपरोस् भन्नेमा हामी केन्द्रित छौँ । अब सेवाग्राहीले राहदानीका लागि पटक पटक जिल्ला प्रशासन धाइरहनु पर्दैन,’ उनी भन्छन् । पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयबाट १ दिनमा १ सय २० जनासम्मको ‘बायोमेट्रिक’ हुन्छ । पछिल्लो समय राहदानीको सेवा इलाका प्रशासन कार्यालय रँगेलिबाट पनि दिन थालिएको छ । त्यहाँबाट दैनिक २० देखि ३० जनाले सेवा लिइरहेको पोखरेलले बताए । इलाका प्रशासन कार्यालय उर्लाबारीले पनि सरदर दैनिक ३० जना जतिलाई राहदानीको सेवा दिइरहेको पोखरेलले बताए । खास गरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राहदानी वितरण प्रणाली सुधार गर्दै सेवालाई सहज बनाएका हुन् । ‘तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीले बिचौलियामार्फत पैसा बुझाएर राहदानीका लागि ‘बायोमेट्रिक’ गराउने गरेका थिए । बिचौलियाले सेवाग्राहीसँग ‘बार्गेनिङ’ गर्थे,’ कार्यालयका एक कर्मचारी भन्छन्, ‘यसअघि टोकनका लागि नै सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने हुन्थ्यो । प्रशासनले टोकन दिएपछि २ महिनासम्म पर्खिएर बस्नुपर्ने बाध्यता थियो ।’ प्रमुख जिल्ला अधिकारी यादव गत पुस २४ गते मात्रै मोरङ हाजिर भएका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार