भैरहवा : रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।
जिल्लाका ६० वटा परीक्षा केन्द्रहरूमा २३,६६० जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सूचना अधिकृत अम्बर केसीका अनुसार, परीक्षामा रेगुलर तर्फ १७,३३० विद्यार्थीमध्ये १७,२१७ विद्यार्थी उपस्थित थिए र ११३ जना अनुपस्थित रहे।
अपाङ्गता भएका १५ जना विद्यार्थीहरूले कक्षा ९ का साथीहरूको सहयोगमा परीक्षा दिएका छन्। उनीहरूको स्थिति हेरेर आधा घण्टा अतिरिक्त समय दिइएको थियो। यसैगरी, कारागार र बालसुधार गृहका ८ जना विद्यार्थीहरूलाई परीक्षा केन्द्र भैरहवा नमुना मा.वि.मा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको थियो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको जानकारी प्राचार्य रूप कुमार रायमाझीले दिएका छन्। परीक्षा केन्द्रमा प्रवेश पत्रको तस्बिर र परीक्षार्थीको अनुहार न मिल्दा नक्कली विद्यार्थी भएको पत्ता लागेको हो। तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा पनि नक्कली परीक्षार्थी फेला परेको छ। उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।
प्रतिक्रिया