इलाममा अवैध अफिम खेती नष्ट

शुक्रबार, ०८ चैत्र २०८१
इलाम : इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीस्थित अवैध रूपमा लगाइएको अफिम खेती इलाका प्रहरी कार्यालय मंगलबारेको टोलीले नष्ट गरेको छ। ‘अबको युद्ध दुर्व्यसन विरुद्ध’ नारासहित लागुऔषधविरुद्धको अभियान ‘फाइट अगेन्स्ट नार्कोटिक्स’ अन्तर्गत प्रहरीले उक्त खेती फडानी गरेको हो। प्रहरीका अनुसार झन्डै चार रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी गरिएको छ। इलाम प्रहरी निरीक्षक मोहन लाल आँगा श्रेष्ठको नेतृत्वमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट खटिएको टोलीले उक्त अवैध खेती नष्ट गरेको हो। इलाम प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्र बनाउँदै ग्रामीण क्षेत्रहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। पछिल्ला दिनहरूमा युवामाझ लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएपछि विशेष अपरेशनमार्फत अवैध खेती र कारोबार नियन्त्रण अभियानलाई सक्रिय बनाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार