जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।
राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरू आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाइन होटलहरुको अनुगमन गरेका हुन् ।
सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौँ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरुमा पुगेका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए ।
मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्यकता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए ।
एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमी कमजोरी फेला परेमा बन्द गर्ने चेतावनीसमेत दिए । मुख्यमन्त्री सिंहले बसका चालक र बसधनीहरुलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे ।
प्रतिक्रिया