जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ ।
नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं घरका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर जुडशीतल पर्व मनाइँदैछ ।
वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ ।
त्यस्तै आजका दिनमा खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । सूर्यको तापबाट आकुल व्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको संस्कृतिविद्हरू बताउँछन् ।
आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।
प्रतिक्रिया