काठमाडौँ । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । चारजना घाइतेको उपचार भइरहेको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउने क्रममा जग्गासम्बन्धी विवादमा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबीच झडप भएको थियो ।
विवाद बढेपछि राजकुमार पक्षधरले ढुंगामुढा गरेको स्थानीयहरूले बताएका छन् ।
त्यसपछि राम इश्वर पक्षले गोली चलाएको स्थानीयको आरोप छ ।
प्रहरीले गोली चलाउनेको पहिचान खुलाउन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
यादवको टाउकोमा गोली लागेको थियो ।
झडपका क्रममा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
घटनास्थल पुगेका इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घघनामा संलग्नको खोजी कार्य भइरहेको बताए ।
प्रतिक्रिया