धरान : धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २४ सय १२ केजि फुलकोपी नष्ट गरिएको छ।
मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए ।
"धरान–१३ मा रहेको कृषि बजारमा यसअघि पनि विभिन्न तरकारीमा विषादी भेटिएको भए पनि यति धेरै मात्रामा विषादी पाइएको यो पहिलो घटना हो। यस्तो विषादी स्वास्थ्यका लागि अत्यन्तै खतरनाक हुन्छ, त्यसैले अबदेखि बिना परीक्षण तरकारी बिक्री गर्न नदिने निर्णय गरिएको छ," उपप्रमुख बेघाले भने ।
प्रयोगशालाको तथ्याङ्क अनुसार, अन्य तरकारीमा पनि विषादी पाइएको छ। सिधुवा धनकुटाबाट ल्याइएको फुलकोपीमा ८.३९ प्रतिशत, गाजरमा १०.११ प्रतिशत, खिरामा ३०.७३ प्रतिशत, गोलभेंडामा २५.२१ प्रतिशत, बन्दाकोपीमा २९.६९ प्रतिशत र घिरौलामा ३०.७८ प्रतिशत विषादी अवशेष पाइएको छ।
यसरी ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य हुने, ३५ प्रतिशत देखि ४५ प्रतिशत सम्म भए केहि दिन राखेर उपभोग गर्न सकिने र ४५ प्रतिशत भन्दा बढी खान अयोग्य हुने भएकोले नष्ट नै गर्न पर्ने विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाई धरानको नायब प्राबिधिक सहायक रुपेश रिजालले बताए ।
उक्त विषादीयुक्त फुलकोपी धरान कृषि बजारमा रहेका व्यापारी सन्तोष ढकाल र लाले चौधरीको पसलमा भेटिएको हो।
नष्ट गर्ने कार्य धरान उपमहानगरपालिका, वडा कार्यालय, कृषि बजार व्यवस्थापन समिति, प्रशासन शाखा र सुरक्षाकर्मीहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।
धरान उपमहानगरपालिकाले अबदेखि कृषि उपज बजारमा दैनिक विषादी परीक्षण गर्ने र बिना परीक्षण तरकारी बिक्रीमा रोक लगाउने नीति लागू गर्ने जनाएको छ।
प्रतिक्रिया