इटहरी ः सुनसरीको इटहरी उपमहानगरपालिका–२० बरगाछीस्थित कोशी लोकमार्गमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
हिजो (बिहिबार) राति करिब ११ः२० बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको ना १ ज ८९९ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा भोजपुरको रामप्रसाद गाउँपालिका–३ का २७ वर्षीय नवराज बहादुर तिम्सिना गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारका लागि तिम्सिनालाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो।
प्रहरीका अनुसार तिम्सिनाको अवस्था गम्भीर रहेकाले आज (शुक्रबार) बिहान ३ः३० बजे उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा रिफर गरिएको छ।
प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक टीका प्रसाद नेपालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो।
दुर्घटनाग्रस्त सुमोलाई घटनास्थलबाट हटाएर प्रहरी चौकी तरहरामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया