काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.)मा यात्रु बाहेक अन्यको अनधिकृत प्रवेशमा कडाइ गरिने भएको छ। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन कार्यालयले मंगलबार एक सर्कुलर जारी गर्दै आगमन क्षेत्र ‘ई’ र प्रस्थान क्षेत्र ‘बी’ लाई अति संवेदनशील र विशिष्ट क्षेत्रको रूपमा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा यात्रुहरूका आफन्त तथा अन्य व्यक्तिको अध्यागमनसम्म अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गर्न भनिएको छ। साथै, अत्यावश्यक अवस्थाबाहेक ‘बी’ पास जारी नगर्नु र ‘बी’ क्षेत्रमा अनावश्यक ओहोरदोहोर नियन्त्रण गर्न आग्रह गरिएको छ।
साथै, अध्यागमन चेकजाँचसँग सम्बन्धित कागजातहरूको अनावश्यक दोहोरो निरीक्षण तथा यात्रुलाई नकारात्मक व्यवहार गर्ने अभ्यास रोक्न पनि पत्रमा स्पष्ट भनिएको छ। यात्रुलाई विना कारण अध्यागमन प्रक्रियाबाट रोकिएर फर्काइएको घटनामा अध्यागमन प्रशासनलाई दोषारोपण गरिने क्रम बढेको भन्दै पत्रमा असन्तोष व्यक्त गरिएको छ।
सरोकारवाला निकाय, सुरक्षाकर्मी, एयरलाइन्स तथा ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरूलाई यात्रुमैत्री व्यवहार गर्न, अनावश्यक चेकजाँचबाट बच्न र अध्यागमनको कामप्रति सहयोग गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया