धरान : धरान उपमहानगरपालिका–१६ नौलो बस्तीस्थित बहुभाषिक विद्यालय जोगाउन लगाइएको तार जालीको भुक्तानी दिने सहमति भएको छ।
मेयर हर्क साम्पाङ, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले स्थलगत निरीक्षण गरी उपभोक्ता समितिलाई भुक्तानी दिनुपर्ने निष्कर्षसहित सर्जमिन मुचुल्का तयार गरेका हुन्।
तारजाली भुक्तानी रोकिएपछि अन्य योजनाको भुक्तानी प्रक्रिया समेत रोकिएको थियो। मेयर साम्पाङले तार जालीको कामको भुक्तानी नभए कुनै पनि योजनाको रकम नछुट्याउने अडान राखेपछि उपमहानगर तनावपूर्ण बनेको थियो। अहिले सहमति भएपछि सङ्घ, प्रदेश र सडक बोर्डको बजेट पनि प्रयोग हुने मार्ग खुलेको छ।
सहमति अनुसार, लागतअनुसार कुल १७ लाख ४० हजार २९४ रुपैयाँ बराबरको काममध्ये ५७ प्रतिशत श्रमदानमार्फत सम्पन्न भएको देखिएको छ। बाँकी ७ लाख ४१ हजार रुपैयाँ तार जालीको भुक्तानी उपभोक्ता समितिले पाउनेछ।
तीन दिनदेखि जारी छलफलपछि एमाले, कांग्रेस र राप्रपाका वडाध्यक्ष तथा संसदीय दलका नेताहरूको पहलमा सहमति जुटेको हो। उपमेयर अइन्द्र विक्रम बेघा र वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई भने उक्त सहमतिमा सहभागी भएनन्। उपमेयर बेघाले प्रक्रिया अवैधानिक भएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
प्रतिक्रिया