काठमाडौं : चीनको तिब्बतबाट आएको भीषण बाढीले रसुवाको उत्तरी क्षेत्र तहस नहस बनाइरहेका बेला उद्धारका लागि खटिएका तीन जना नेपाल प्रहरी बेपत्ता भएका छन्।
मङ्गलबार बिहानको बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा उद्धार र राहतको काममा खटिएका प्रहरी टोलीमध्ये तीन जना सम्पर्कविहीन बनेका हुन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीका तीन जना प्रहरी बाढीमा परेर बेपत्ता भएका हुन्।
बेपत्ताहरूमा प्रहरी सहायक निरीक्षक (सई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्। उनीहरू सबै नेपाल प्रहरीको उद्धार टोलीअन्तर्गत जोखिम मोलेर स्थानीयको सुरक्षामा खटिएका थिए।
हाल ९४ जनाको संयुक्त उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी प्रमुखको भनाइ छ। बाढीले सडक र संचार संरचना क्षतिग्रस्त बनाएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
रसुवामा बाढीको कारण, हालसम्म १८ जना बेपत्ता भएको पुष्टि भइसकेको छ, जसमा तीन जना सुरक्षाकर्मी पनि रहेका छन्।
स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गर्दै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
प्रतिक्रिया