मोरङमा ६९ वर्षीय देवरले गरे ६० वर्षीया भाउजूको हत्या

मंगलबार, २४ असार २०८२

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडाले पारिवारिक सम्बन्धलाई हिंसात्मक मोडमा पुर्याएको छ ।

अंश विवाद ज्यानै लिने घटनामा परिणत भएको हो । यही असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ । 

टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । 

केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच पुर्ख्यौली सम्पत्तिको बँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टंकले एकलौटी कब्जा जमाउन खोजिरहेका थिए । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टंक आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरियो । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढायो । 

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टंककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ गरेको छ । 

प्रहरीका अनुसार टंकले अंश बाँडफाँटमा असन्तुष्टि प्रकट गर्दै केही समयदेखि भाउजूलाई गालीगलौज गर्ने र कुटपिटको प्रयाससमेत गर्ने गरेको खुलेको छ । ‘हामीले विगतमा पनि पारिवारिक विवाद बढ्दै गएको र टीकामायालाई लक्षित गरेर टंक आक्रामक भएको प्रमाण संकलन गरेका छौं,’ डीएसपी चुँडालले भनिन्, ‘हत्यासँग सम्बन्धित थप प्रमाण पनि संकलन भइरहेको छ ।’

उनका अनुसार टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । पारिवारिक झगडाले ज्यानै जाने स्थितिमा पुर्याएको घटनाको इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार