नेपाली चेलीलाई वेश्यालय लैजान खोज्ने पक्राउ

बुधबार, ३१ बैशाख २०८२

रौतहट : बाराकी एक युवतीलाई भारतको दिल्लीस्थित वेश्यालय पुर्याउन खोज्ने एक युवक भारतीय सीमा सुरक्षा बल (एसएसबी)को फन्दामा परेका छन्।

सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रौतहट सँग सिमाना जोडिएको बिहारको मोतिहारी जिल्ला झरौखर थाना क्षेत्रअन्तर्गत जमुनियामा पक्राउ परेका हुन्।

एसएसबीका अनुसार गुप्ताले २० वर्षीया विवाहित युवतीलाई दिल्लीमा रहेको आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको यौन व्यवसायमा लगाउन फकाएर भारततर्फ लैजाँदै थिए। घोडासहनबाट रेल चढेर दिल्ली जाने योजनासहित उनीहरू मोटरसाइकलमा सिमाना पार गर्ने प्रयासमा थिए।

गुप्तासँगै पक्राउ परेकी युवतीको बुवाले लाखौं खर्चेर यसै वर्ष विवाह गरेकी छोरीलाई मानव तस्करीमा फसाउने प्रयास भएको भन्दै कडा कारबाहीको माग गरेका छन्।

पक्राउ परेका दुवैजनालाई रौतहटस्थित प्रहरी चौकी बंकुलमा गैरसरकारी संस्थाका प्रतिनिधिको रोहवरमा बुझाइएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई बारा प्रहरीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार