घुसको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई हटाउने तयारी

आइतबार, २९ असार २०८२

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदमुक्त गर्ने तयारी सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी नेपाल भ्रमणमा रहेका बेला यो प्रकरण सार्वजनिक भएको हो । उच्च स्रोतका अनुसार प्रधानमन्त्री काठमाडौँ फर्किएपछि मन्त्री गुप्ताको भूमिकामाथि निर्णय लिइनेछ ।

"प्रधानमन्त्री फर्किएपछि या त राजीनामा गराइनेछ,नभए बर्खास्तको निर्णय हुनेछ,"स्रोतको भनाइ छ । स्रोतका अनुसार गुप्तालाई राजीनामा दिन भनिनेछ र त्यो नै 'राजनीतिक रूपमा उपयुक्त' विकल्प मानिएको छ ।

सार्वजनिक अडियोमा मन्त्री गुप्ताले भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि बिचौलियासँग २५ लाख रुपैयाँ घुसको डिल गरेको सुनिन्छ ।

अर्का अडियोमा गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गरिएको छ । सो घुस रकम दुई झोलामा राखिएको, नोट नम्बर र बन्डल फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ ।

उक्त अडियोमा गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप लगाएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार