मोरङको रतुवामाईबाट खैरो हेरोइनसहित चार जना पक्राउ

शनिबार, ०३ जेठ २०८२

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–२ घरु चोकबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूसँगै लागुऔषध ओसारपसारमा प्रयोग भएको दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त टोलीले शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–९ का २५ वर्षीय मनिष राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरीशनिश्चरे नगरपालिका–२ का ३१ वर्षीय बुद्धिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन्। मनिष र डिकेन्द्र मे ९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार थिए भने बुद्धिराज र सूर्य को २७ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार थिए।

प्रहरीका अनुसार मनिष राईको साथबाट ७.४३० ग्राम र बुद्धिराज राईको साथबाट ४.७५० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागुऔषध, मोटरसाइकल र चारैजनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र अनुसन्धान कार्य इन्स्पेक्टर होमप्रसाद अधिकारीको नेतृत्वमा जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार