संसदको सपथ नखाँदै देउवा संसदीय दलको नेता बन्ने लभिङमा

मंगलबार, २० मंसिर २०७९
प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भैसकेको भए पनि औपचारिक हुन बाँकी छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ । एमाले, माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो बनेका छन् । कांग्रेस सरकार निर्माणको रस्साकस्सीमा लागेको छ । निर्वाचन आयोगले औपचारिक नतिजा सार्वजनिक गरेपछि सरकार गठन प्रक्रिया सुरु हुनेछ ।संविधानको धारा ७६ (२) अनुसार ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा नियुक्त गरिने छ,’। प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसमा युवा नेता गगन थापाले आफुलाई प्रधानमन्त्रीको आकांक्षीको रूपमा प्रस्तुत गरेका छन्। त्यसोत शेखर कोइराला पनि प्रधानमन्त्रीको दौडमा छन् । तर, तत्कालिन प्रधानमन्त्री एवम पार्टी सभापति शेरवहादुर देउवा नै प्रधानमन्त्री बन्ने दौडमा छन् । उनी आफ्नो पक्षमा समर्थन जुटाउन दौडधूपमा लागिसकेका छन् । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताले नेतृत्वमा युवालाई रुचाएको देखिन्छ । निर्वाचनको बेला वर्षौंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान नचलाएका हैनन् । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन् । पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन् । सांसदहरूले शपथ खाएका छैनन् । संसदीय दल गठन भएको छैन । संसदीय दलको नेता चयन भएको छैन । तर, सरकारको नेतृत्व लिन नेताहरुको दौडधूप सुरु भइसकेको छ । निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्री बनाउने सपना सहित काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन् । तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी चलखेल सुरु भएको देखिन्छ । गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन् । तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार